
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ ।
पार्टी कार्यालय वनस्थलीमा बिहीबार बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै बिभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । पार्टीका सदस्यहरुबीच कुनै मतभेद नराखि सौहार्दपूर्ण रूपमा पार्टीलाई एकढिक्का राख्नको लागि निर्वाचन आचारसंहीताभित्र रहेर प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको उनले बताए ।
महामन्त्री बुर्लाकोटीले विधुतीय भोटिङ मेसिनको प्रयोगमार्फत महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरु गरेको जानकारी दिए । बैठकमा विधान संशोधनसम्बन्धी छलफल भइ सचिवालयले केन्द्रीय समितिमा पठाउने गरी निर्णय गरेको उनले बताए । अहिलेसम्मको प्रस्तावमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको समेत उहाले जानकारी दिए ।
त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
महाधिवेशनमा २५ सय देखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने अनुमान गरिएको महामन्त्री बुर्लाकोटीले बताए । त्यसबाहेक हरेक जिल्लाबाट जिल्ला समितिले एकजना पर्यवेक्षक पठाउन सक्ने र प्रदेश समितिले तीनजना प्रदेशबाट पर्यवेक्षक पठाउन सक्ने गरी निर्णय भएको उनले जानकारी दिए।
पार्टीको महाधिवेशन उद्घाटन सत्रमा शुभकामनाका लागि बिभिन्न दलका सभापति तथा अध्यक्षहरुलाई निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ । सचिवालय बैठकले सातै प्रदेशको अधिवेशनको समीक्षा गर्दै मधेश प्रदेश बाहेक अन्य प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ भने महाधिवेशनका लागि गठन गरिएका उपसमितिहरुले असार ६ गते साँझसम्म सवै तयारी सक्ने जानकारी गराएको महामन्त्री बुर्लाकोटीले बताए । रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने रास्वपाले जनाएको छ ।