काठमाडौं, असार ५ :

कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तयारीका सन्दर्भमा सरोकारवाला पक्षहरूसँग छलफल सुरु गरेको छ। यसैक्रममा शुक्रबार नगरभित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षाविद् तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी सुझाव संकलन गरिएको छ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरूले आगामी वर्षको बजेटमा शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय तथा प्रविधिमैत्री बनाउने विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले करको दर नबढाई निजी तथा सामुदायिक विद्यालयप्रति समान नीति र व्यवहार अपनाउँदै शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले नगरपालिकाले शिक्षामा गरेको लगानीप्रति खुशी व्यक्त गर्दै सार्वजनिक खुला चौर तथा स्थानहरूलाई बालमैत्री बनाउन सुझाव दिइन्।

त्यस्तै आनन्द भैरव माध्यमिक विद्यालयकी सरस्वती थापा कार्कीले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै आफूहरूलाई कुनै विशेष गुनासो नरहेको बताइन्।

कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले सहभागीहरूले दिएका रचनात्मक सुझाव र जिज्ञासालाई आगामी नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे। शिक्षा र स्वास्थ्य नगरपालिकाका प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै उनले निजी तथा सामुदायिक विद्यालयप्रति समान व्यवहारको नीति अवलम्बन गरिने बताए।

यस अवसरमा प्रमुख कार्कीले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका क्षेत्रमा अत्यधिक कर लगाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनका अनुसार निजी विद्यालय तथा शैक्षिक संस्थाहरूले आयकर, व्यवसाय कर, समतामूलक करलगायत विभिन्न शीर्षकमा कर तिर्नुपर्ने बाध्यता खेपिरहेका छन्।

“अन्य व्यवसायको तुलनामा शिक्षा क्षेत्रमा धेरै करको भार परेको देखिन्छ। राज्यले समतामूलक समाज निर्माणका लागि शिक्षा र स्वास्थ्यलाई सहज र पहुँचयोग्य बनाउनुपर्ने हो, तर उल्टै करको बोझ थप्ने प्रवृत्ति देखिएको छ,” उनले भने।

देश विकासको मेरुदण्ड शिक्षा नै भएको उल्लेख गर्दै प्रमुख कार्कीले युवाहरूलाई सही ज्ञान, सीप र चेतनाले सशक्त बनाउन सके मात्र समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा राखे। युवाहरूमा बढ्दो निराशा र आक्रोशलाई सकारात्मक दिशामा रूपान्तरण गर्न व्यवहारिक तथा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उनले बताए।

“यदि हामीले हाम्रा युवाहरूलाई सही शिक्षा र ज्ञानले भरिपूर्ण बनाउन सक्यौं भने उनीहरू विनाशतर्फ होइन, देश निर्माणको जिम्मेवारी बहन गर्ने दिशामा अघि बढ्नेछन्,” उनले भने।

नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि विभिन्न क्षेत्रका सरोकारवालासँग निरन्तर छलफल गरिरहेको छ। कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा असार ९ गते बस्ने तय भएको छ।