
काठमाडौं, असार ५ :
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि दोस्रो पटक पाँच दिनको म्याद थप्ने आदेश दिएको हो।
यसअघि अख्तियारको नियन्त्रणमा रहेका उनीहरूमाथि जारी अनुसन्धानका क्रममा थप बयान तथा प्रमाण संकलन आवश्यक रहेको भन्दै म्याद थपका लागि अदालतमा पेस गरिएको थियो।
म्याद थप भएका प्रतिवादीहरूमा महानिर्देशक अर्यालसहित सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र मणिन्द्र मल्ल रहेका छन्।
उनीहरूमाथि राहदानी छपाइसम्बन्धी खरिद तथा व्यवस्थापन प्रक्रियामा अनियमितता गरेको आरोपमा अनुसन्धान भइरहेको छ।