काठमाडौं, असार १० :

कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार थलीस्थित नगरपालिकाको सभाहलमा आयोजित १४औँ नगरसभामा नगर प्रमुख उपेन्द्र कार्कीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेटसमेत रहेको उक्त कार्यक्रममा मेयर कार्कीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सेवा प्रवाह तथा रोजगारी सिर्जनालाई आगामी वर्षको प्रमुख प्राथमिकताका रूपमा अघि सारे।

बजेट प्रस्तुत गर्दै उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरे। आगामी वर्ष पनि यी क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए।

नगरभित्रका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै उनले शिक्षामा पहुँच, समता, गुणस्तर, सान्दर्भिकता तथा संस्थागत सक्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए।

“संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मूल मन्त्रका साथ नगरको शैक्षिक सुधारका लागि आवश्यक कानुनी, नीतिगत तथा व्यवस्थापकीय सुधार गरिने उनले बताए। विद्यालयहरूको आवश्यकता अनुसार स्वयंसेवक, आंशिक तथा सट्टा शिक्षकको व्यवस्था गरिनुका साथै शिक्षक तथा विद्यालय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गरिने नीति बजेटमा समेटिएको छ।

प्रारम्भिक बाल कक्षाका सहजकर्ता, विद्यालय सहायक कर्मचारी तथा लेखा कर्मचारीहरूको पारिश्रमिक वृद्धि गरिनेछ भने विद्यालयहरूमा क्रमशः भान्से, सरसफाइ कर्मचारी र सुरक्षा गार्डको व्यवस्था गरिने जनाइएको छ। साथै नगरपालिका, रातो बंगला फाउण्डेसन र रातो बंगला स्कुलको साझेदारीमा सञ्चालित ‘सार्थक बाल सिकाइ कार्यक्रम’ प्रारम्भिक बाल कक्षादेखि कक्षा ३ सम्म विस्तार गरिने भएको छ।

खानेपानी व्यवस्थापनतर्फ ‘घर–घर एक धारा’ अभियान आफ्नो प्रतिबद्धताअनुसार पूरा हुने चरणमा पुगेको बताउँदै मेयर कार्कीले नगरवासीलाई स्वच्छ र सहज खानेपानी उपलब्ध गराउने लक्ष्य निकट रहेको जानकारी दिए।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरपालिकाले “स्वस्थ र निरोगी नगरबासी, समृद्ध नगरपालिकाको पहिचान” भन्ने नारासहित खोपदेखि शोकसम्मका एकीकृत स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। जेष्ठ नागरिक विशेष स्वास्थ्य कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरी घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याइने भएको छ।

खेलकुद तथा युवा विकासतर्फ विभिन्न तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कार तथा प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ। मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वाधार निर्माण शीघ्र सम्पन्न गर्न आवश्यक समन्वय गरिने जनाइएको छ। साथै सोमतीर्थमा रग्बी स्टेडियम, सिम्खडा गाउँमा आइस हक्की स्टेडियम तथा नेपाल बक्सिङ संघसँगको सहकार्यमा इन्डोर बक्सिङ स्टेडियम निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ।

युवा उद्यमशीलता प्रवर्द्धन गर्न ‘एक वडा, एक युवा उद्यमी’ कार्यक्रम सञ्चालन गरिनेछ। ५० प्रतिशत लागत सहभागितामा युवाहरूको समूह गठन गरी स्वरोजगार कोष तथा सहकारीमार्फत उद्यमशीलतामा जोड दिइने नीति लिइएको छ। त्यस्तै सूचना प्रविधिमा आधारित सीप विकासका लागि आईसीटी हब स्थापना गरी व्यवसायिक तालिम प्रदान गरिने मेयर कार्कीले बताए।

नगरको व्यवस्थित तथा दीर्घकालीन विकासका लागि गुरुयोजना (मास्टर प्लान), भू–उपयोग योजना तथा आवधिक योजनाका आधारमा पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने उनले स्पष्ट पारे।

कार्यक्रममा मेयर कार्कीले आफ्नो कार्यकालमा भूमि सेवा सञ्चालन गरेर कागेश्वरी मनोहरा नगरपालिकालाई देशकै पहिलो स्थानीय तहका रूपमा स्थापित गर्न सफल भएको दाबी पनि गरे।

नगरसभामा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बजेट प्रस्तुत गर्न सभाहल प्रवेश गर्ने क्रममा नगर प्रमुख कार्कीलाई नगर प्रहरीले विशेष सम्मानसहित सलामी अर्पण गरेको दृश्य कार्यक्रमको थप आकर्षण बनेको थियो।