काठमाडौं, असार ११ :

काठमाडौँ उपत्यकाका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले तत्काल स्थायी बसोबासको व्यवस्था नगरे पुरानै बसोबास क्षेत्रमा फर्किने चेतावनी दिएका छन्।

काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा हाल अस्थायी रूपमा बसिरहेका उनीहरूले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले विकल्प नदिई हटाउने प्रयास गरे आफूहरू पूर्ववत् स्थानमै फर्किन बाध्य हुने बताएका हुन्।

सरकारले गत वैशाख १२ गतेदेखि काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउन थालेको थियो। त्यसबेला प्रभावित परिवारलाई १५ दिन अस्थायी सेल्टरमा राख्ने र ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको थियो।

तर दुई महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनको ठोस पहल नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। उल्टै जिल्ला प्रशासन कार्यालय काठमाडौँले असार ९ गते सूचना जारी गर्दै असार १२ भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। सूचनामा प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ लिएर आफैँ बसोबासको व्यवस्था गर्न भनिएको उल्लेख छ।

यस निर्णयप्रति आपत्ति जनाउँदै सुकुम्वासीहरूले पाँच बुँदे माग अघि सारेका छन्। उनीहरूले सुकुम्वासी परिवारको लगत संकलन र प्रमाणीकरण गर्न, जबर्जस्ती हटाइएका परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न, र स्थायी व्यवस्था नहुँदासम्म पर्याप्त सेवा–सुविधासहित होल्डिङ सेन्टरमै बस्ने व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले विकल्पबिना हटाउने प्रयास भए पुरानै बसोबास क्षेत्रमा फर्किने चेतावनी दोहोर्‍याएका छन्।