काठमाडौं, असार १२ :

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाई गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सुकुम्वासीहरुको व्यवस्थापन नै नगरी होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ । गत बैशाखमा उपत्यकाभित्रका नदी किनाराका सुकुम्वासी बस्तीहरू हटाएसंगै उनीहरुलाई होल्डिङ सेन्टरमा राखिएको थियो ।

सुकुम्वासीहरूलाई तत्कालका लागि घर भाडा उपलव्ध गराइने भन्दै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी भएपछि होल्डिङ सेन्टरमा बस्दै आएकाहरुले विरोध जनाएका हुन् । उनीहरुले सुकुम्वासीमाथि भएको राज्य आतंक बन्द गर, भत्काइएका सुकुम्वासीको घरटहराको क्षतिपूर्ति दे, सुकुम्वासीको पहिचान गरी पुनस्र्थापना गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए  । 

बैकल्पिक व्यवस्था नदिई सुकुम्वासीहरुलाई होल्डिङ सेन्टरबाट पनि हटाएर अलपत्र पार्न खोजिएको भन्दै आन्दोलन गर्नु परेको संघर्ष समितिले जनाएको छ । उनीहरुले सरकारले आफूहरुको उचित व्यवस्थापन नगरे पुनः पुरानै ठाँउमा गएर बस्ने चेतावनी दिएका छन् ।