
कागेश्वरी मनोहरा नगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा बजारमा गुणस्तरीय खाद्य एवं पेय पदार्थको बिक्री–वितरण सुनिश्चित गर्ने उद्देश्यले आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिएको छ।
यसैक्रममा नगरपालिकाको संयुक्त अनुगमन टोलीले मंगलबार वडा नं. ९ क्षेत्रमा रहेका विभिन्न पसल तथा व्यवसायको अनुगमन गर्नुका साथै स्थानीय रूपमा पानी उत्पादन तथा वितरण गर्दै आएको 'श्रीकृष्ण पेय पदार्थ' उद्योगको स्थलगत निरीक्षण गरेको हो। नगर प्रहरीसमेत सहभागी रहेको टोलीले उद्योगको उत्पादन प्रक्रिया, आवश्यक कागजात तथा गुणस्तर व्यवस्थापनको अवस्थाबारे निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा उद्योगले पिउने पानीको गुणस्तर पुष्टि गर्ने सबैभन्दा महत्वपूर्ण कागजात मानिने नियमित पानी परीक्षण (ल्याब टेस्ट) सम्बन्धी अद्यावधिक प्रतिवेदन प्रस्तुत गर्न नसकेको पाइएको छ। उपभोक्ताले प्रत्यक्ष उपभोग गर्ने पिउने पानीको प्रत्येक ब्याचअनुसार नियमित रूपमा प्रयोगशालामा परीक्षण गरिनुपर्ने कानुनी व्यवस्था रहे पनि उद्योगले सोसम्बन्धी आवश्यक प्रतिवेदन उपलब्ध गराउन नसकेको भन्दै अनुगमन टोलीले गम्भीर आपत्ति जनाएको छ।
अनुगमन टोली प्रमुख शान्ति ढकालका अनुसार पिउने पानीजस्तो संवेदनशील वस्तुको उत्पादनमा आवश्यक गुणस्तर परीक्षण नगर्नु वा त्यसको प्रमाण पेश गर्न नसक्नु गम्भीर विषय हो। उनले उद्योगलाई तत्काल नियमानुसारको प्रयोगशाला परीक्षण प्रतिवेदनसहित अन्य आवश्यक कागजात सम्बन्धित कार्यालयमा पेश गर्न निर्देशन दिइएको जानकारी दिइन्।
नगरपालिकाले तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण र गुणस्तर परीक्षण प्रतिवेदन पेश नगरे उद्योगको उत्पादन रोक्का गर्नुका साथै प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
नगरपालिकाले आगामी दिनमा पनि उपभोक्ताको स्वास्थ्य संरक्षण तथा बजारमा खाद्य र पेय पदार्थको गुणस्तर कायम राख्न यस्ता आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ।