नुवाकोट, असार २१ :

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले बालबालिकाको सर्वोत्तम हित, अधिकार संरक्षण तथा प्रभावकारी पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्।

नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षणपछि मन्त्री बादीले बाल सुधार गृहलाई अझ सुरक्षित, बालमैत्री, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय आवश्यक समन्वय र पहल गर्न प्रतिबद्ध रहेको बताइन्।

अनुगमनका क्रममा उनले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिका, कर्मचारी तथा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गरेकी थिइन्।

कानुनी विवादमा परेका बालबालिकासँगको छलफलमा उनीहरूले प्रदेशगत आधारमा व्यवस्थापन गर्नुपर्ने, विज्ञान तथा प्रविधि, सूचना प्रविधि, कम्प्युटर शिक्षा तथा विभिन्न सीपमूलक तालिमसँग जोड्नुपर्ने लगायतका माग तथा सुझाव राखेका थिए।

बाल सुधार गृहको निरीक्षणपछि मन्त्री बादीले सञ्चालनका क्रममा देखिएका आवश्यकता र चुनौतीहरूको समीक्षा गर्दै सुधार गृहसम्म पुग्ने सडकको स्तरोन्नति, सीप विकास तालिम सञ्चालन, औषधि उपचारका लागि आवश्यक बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा आवश्यक पूर्वाधार सुदृढीकरणका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्।