काठमाडौं, साउन ५ :

कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक क्षेत्रमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कारभित्र जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ हुन्। उनी बा ५ च ३०३८ नम्बरको कियाको पेट्रोल कारका धनी तथा चालक रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान उक्त कारमा अचानक आगलागी हुँदा श्रेष्ठ कारभित्रै रहेका थिए। प्रहरीका अनुसार उनी चालक सिटमा सिट बेल्ट लगाएको अवस्थामा जलेको अवस्थामा फेला परेका थिए। घटनास्थल पुग्दा कारका दुवै ढोका खुला रहेको पाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीले कारमा आगो लागेको देखेपछि घटनास्थल पुगेर उद्धार प्रयास गरेका थिए। कारभित्र मानिस रहेको थाहा पाएपछि ढोका खोल्ने प्रयास भए पनि प्रहरी पुग्दा श्रेष्ठको मृत्यु भइसकेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। श्रेष्ठको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

कारमा आगो लाग्दासमेत उनी बाहिर ननिस्की कारभित्रै जल्नुले कुनै भवितव्य नभई आफैं सिर्जित घटना हुन सक्ने प्रारम्भिक गरिएको छ । यद्यपि प्रहरीले कारमा आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। कार नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।