काठमाडौं, साउन ६ :

दाङको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकसहितको टोलीले कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन भ्रमण गरेको छ।

भ्रमणका क्रममा टोलीलाई नगर प्रमुख, उपप्रमुख, कार्यकारी निर्देशक तथा अस्पताल परिवारले अस्पतालका विभिन्न विभाग, सेवा प्रवाह प्रणाली, व्यवस्थापन अभ्यास, सेवा विस्तार योजना र भावी कार्यक्रमबारे जानकारी गराएका थिए।

टोलीले अस्पतालमा उपलब्ध आधुनिक प्रयोगशाला सेवा, व्यापक स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, २४ सै घण्टा उपलब्ध आपत्कालीन सेवा, सुलभ फार्मेसी, स्वास्थ्य बीमा कार्यक्रम तथा समग्र व्यवस्थापन प्रणालीको अवलोकन गरेको थियो।

अवलोकनपछि राप्ती गाउँपालिकाको टोलीले अस्पतालले नागरिकलाई गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा विश्वास कायम गर्न सफल भएको भन्दै प्रशंसा गरेको छ। टोलीले अस्पतालका उत्कृष्ट अभ्यासहरू आफ्नो पालिकामा समेत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

सो अवसरमा कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्कीले टिमको समर्पणले नै नागरिकलाई गुणस्तरीय सेवा दिन सकिएको भन्दै निरन्तर सुधार र प्रभावकारी व्यवस्थापनमार्फत अस्पतालले सेवा विस्तार गरिरहेको बताए। उनले अस्पतालको सफलतामा व्यवस्थापन टोली, चिकित्सक तथा सम्पूर्ण कर्मचारीको योगदान महत्वपूर्ण रहेकोमा जोड दिए।

यस्तै नगर उपप्रमुख शान्ता थापाले विगतमा सामान्य स्वास्थ्य केन्द्रका रूपमा सुरु भएको अस्पताल निरन्तर सुधार, सेवा विस्तार र व्यवस्थापन सुदृढीकरणका कारण अहिले नमुना नगर अस्पतालका रूपमा स्थापित हुन सफल भएको बताइन् ।

भ्रमण टोलीले अस्पतालको १०० शय्याको मास्टर प्लान, आधुनिक अपरेशन थिएटर (ओटी) निर्माण योजना, व्यवस्थापन प्रणाली तथा अस्पतालका कर्मचारीहरूको समर्पणको प्रशंसा गरेको थियो।

अवलोकन भ्रमणले कागेश्वरी मनोहरा नगरपालिका र राप्ती गाउँपालिकाबीचको सहकार्य र अनुभव आदान–प्रदानलाई थप बलियो बनाएको दुवै पक्षले बताएका छन्। त्यसो त नमूना स्वास्थ्य सेवामा अग्रणी कागेश्वरी मनोहरा नगरपालिका स्थानीयतहमा भू-सेवा सुरु गर्ने देशकै पहिलो पालिकाको रुपमा समेत सुपरिचित छ ।