काठमाडौं, साउन ६ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस निरंकुश र हुकुमी शैलीतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसको स्थापना नै निरंकुशताको अन्त्यका लागि भएको भए पनि अहिले पार्टीभित्र त्यही प्रवृत्ति देखिन थालेको बताए।

“कांग्रेस कमजोर बन्दा देश अराजकतातर्फ जान्छ। नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ,” उनले भने।

कोइरालाले पार्टी नेतृत्वलाई बीपी कोइरालाको विचार र लोकतान्त्रिक मूल्य-मान्यतालाई आत्मसात् गर्न आग्रह गर्दै व्यक्तिवाद र स्वार्थको राजनीति त्याग्नुपर्ने बताए।

उनले सदस्यता नवीकरण नगरेको भन्दै केही वडा सभापतिलाई स्पष्टीकरणबिनै जिम्मेवारीबाट हटाइएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए। त्यस्ता निर्णय स्वीकार्य नहुने भन्दै पार्टीभित्र एकता कायम राख्न नेतृत्वले पहल गर्नुपर्नेमा उनले जोड दिए।