काठमाडौं, साउन ७ :

 नेपाली कांग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेको छ।

 बिहीबार बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले श्रेष्ठलाई वरिष्ठ नेता घोषणा गरेका हुन्।

आगामी साउन १२ र १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट उक्त निर्णयलाई अनुमोदन गरिने  सभापति थापाले बताए।

“गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ। साउन १२ र १३ गते बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने गरी उहाँलाई पार्टीको वरिष्ठ नेता घोषणा गर्दछु,” थापाले भने।

उनले कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न जिम्मेवारीमा रहेर श्रेष्ठले पार्टी र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको सम्मानस्वरूप वरिष्ठ नेता घोषणा गरिएको बताए।

क्यान्सरबाट पीडित श्रेष्ठ विगत १० दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्।