
कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) ले भोलि ( मंगलबार) वडा नं. ५ मा निःशुल्क क्षयरोग (टिबी) को जाँच गर्ने भएको छ।
टिबीका सम्भावित बिरामीको समयमै पहिचान गरी उपचारको पहुँचमा ल्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने संस्थाकी ज्योति पन्तले जानकारी दिइन्।
भोलिको कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित कार्यक्रममा उनले नगरवासी तथा सर्वसाधारणलाई परीक्षणमा सहभागी भई आफ्नो स्वास्थ्य अवस्था सुनिश्चित गर्न आग्रह गरिन्।
जन्त्रका चिकित्सक तथा रेडियोग्राफरसहितको टोलीले जाँच गर्ने छन्। टोलीले एआई प्रविधिमा आधारित डिजिटल एक्स–रेमार्फत छातीको परीक्षण गर्नेछ भने परीक्षण सम्पन्न भएलगत्तै चिकित्सकले एक्स–रेको जाँच गरी तत्काल रिपोर्ट र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने बताइएको छ।
आयोजकका अनुसार विशेषगरी कलकारखानामा कार्यरत श्रमिक, प्रहरी तथा सुरक्षा निकायका कर्मचारी, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, क्यान्टिनमा कार्यरत कर्मचारी, सार्वजनिक सम्पर्कमा रहने सेवा प्रदायक तथा व्यापारी वर्गले परीक्षण गराउनु उपयुक्त हुनेछ।
कार्यक्रममार्फत करिब ३०० जनाको क्षयरोग परीक्षण गर्ने लक्ष्य राखिएको भए पनि निःशुल्क रहेकाले सबै इच्छुक सर्वसाधारणले यसको लाभ लिन सक्ने आयोजकले जनाएको छ।
वडा नं. ५ का वडासदस्य सुशान्त श्रेष्ठ तथा नगर कार्यपालिका सदस्य गोमाले पनि नगरवासीलाई परीक्षणमा सहभागी भई समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्। उनीहरूले क्षयरोगको प्रारम्भिक पहिचानले प्रभावकारी उपचार र रोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले निःशुल्क सेवाको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन्।
क्षयरोग श्वास-प्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो रोगका किटाणुहरु हावाको माध्यम भएर फोक्सोमा पुग्दछन् ।त्यहाँबाट यी किटाणुहरुले फोक्सोमा वा शरीरको अन्य कुनै पनि भागमा सार्दछ ।
