काठमाडौं, साउन १२ :

प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतले औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनका क्रममा नेपालका उच्च अधिकारीहरूको हालैको भारत भ्रमण प्रधानमन्त्री शाहको सम्भावित भ्रमणको तयारीसँग सम्बन्धित हो कि भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइसकिएको बताए।

‘नेपालका प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा पठाइसकिएको छ,’ उनले भने। यद्यपि भ्रमण कहिले हुने, निमन्त्रणा कहिलेदेखिको हो वा भ्रमणको मिति तय भइसकेको छ कि छैन भन्नेबारे उनले थप विवरण खुलाएनन्।

पछिल्लो समय नेपाल–भारत उच्चस्तरीय भ्रमणको सम्भावनाबारे विभिन्न तहमा चर्चा भइरहेका बेला भारतीय विदेश मन्त्रालयको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।