
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सुनसरीमा भएको घटनालगायत समसामयिक विषयलाई संसद्मा उपस्थित भएर सम्बोधन गर्न सुझाव दिएका छन् ।
बुधबार प्रधानमन्त्री शाहसँग भएको भेटमा सभामुख अर्यालले समसामयिक विषयमा संसद्मार्फत सरकारको धारणा सार्वजनिक गर्दा सकारात्मक सन्देश जाने बताएका हुन्।
‘प्रधानमन्त्रीज्यूलाई संसद्मा उपस्थित भएर समसामयिक विषयमा सम्बोधन गर्न आग्रह गरेको छु। उहाँले यस विषयमा विचार गर्छु भन्नुभएको छ,’ सभामुख अर्यालले भने। छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने र आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा विचारविमर्श भएको जनाइएको छ।
विपक्षी दलले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर सीमा मिचेको विषयमा स्पष्ट जवाफ नदिएसम्म अवरोध कायमै राख्ने बताएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलमा सभामुखलाई विपक्षी दलले जवाफ नआएसम्म अवरोध गर्ने बताएका हुन् ।
आफूहरुसँग जनताका धेरै प्रश्न रहेको भन्दै उनीहरुले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई तालिका बनाएर नियमित गर्न पनि सभामुखलाई आग्रह गरेका थिए ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनामा सरकार गैरजिम्मेवार बनेको भन्दै विपक्षी दलले सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।
आइतबार राति भएको घटनामा एक जनाको मृत्यु भएपछि उक्त क्षेत्रमा तनाव सिर्जना भएको छ।