
कागेश्वरी मनोहरा नगरपालिका–१ ले गुरुपूर्णिमाको अवसरमा वडाभित्रका निजी तथा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई सम्मान गरेको छ।
बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका गरी करिब २ सय जनालाई सम्मानपत्र प्रदान गरियो । सम्मानपत्र हस्तान्तरण गर्दै वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेलले शिक्षण पेसाले समाज निर्माणमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
उनले शिक्षण पेसा सामान्य जागिर नभई राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै आदर्श नागरिक निर्माणदेखि इन्जिनियर, डाक्टर, वैज्ञानिक र दक्ष जनशक्ति उत्पादनसम्मको पहिलो आधार विद्यालय र शिक्षक नै भएको बताए।
उनले शिक्षकहरूलाई निरन्तर अध्ययनशील रहन, विद्यार्थीलाई प्रेरित गर्न तथा सेवाभावका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। स्थानीय तहका कर्मचारी र शिक्षक दुवैमा सेवामुखी सोच आवश्यक रहेको उल्लेख गर्दै समाज परिवर्तनका प्रमुख संवाहक शिक्षक नै भएको उनको भनाइ थियो।
कार्यक्रममा ट्रयाङ्गल शान्ति पाठशालाका प्रतिनिधिले शिक्षक सम्मान कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले शिक्षकको मनोबल बढाउने बताए। विद्यालयले विक्रम संवत् २०६४ सालमा स्थापना भएदेखि निरन्तर शैक्षिक सेवा प्रदान गर्दै आएको र गुरुपूर्णिमाकै दिनदेखि प्रवेशको २०औँ वर्षमा पुगेको जानकारी पनि गराइएको थियो।
विद्यालयका शिक्षक प्रतिनिधिले प्रतिस्पर्धा अरूसँग नभई आफ्नै क्षमतासँग हुनुपर्ने धारणा राख्दै कमजोरभन्दा कमजोर विद्यार्थीलाई समेत सिकाएर अघि बढाउनु नै वास्तविक शिक्षणको सफलता भएको बताए।
कार्यक्रममा सहभागी शिक्षक तथा स्थानीय जनप्रतिनिधिले यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रमले शैक्षिक वातावरण सुधार गर्न र शिक्षकहरूको मनोबल अभिवृद्धि गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
वडा सदस्य, विद्यालयका शिक्षक–शिक्षिका, स्थानीयवासी तथा समाजसेवीहरूको उपस्थिति रहेको कार्यक्रममा आगामी दिनमा वडा नं. १ का विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै कागेश्वरी मनोहरा नगरपालिकाभित्र उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरिएको थियो।