काठमाडौं, साउन १४ :

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालीको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री देउवाले नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुशरण गर्न अनुरोध गरेका छन् ।

उनले पछिल्लो घटनामा निधन भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उनले उक्त घटनामा घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।

पूर्व प्रधानमन्त्री देउवाले हिंसा भड्किन नदिन राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न सरकारसँग अनुरोध गरेका छन्।