काठमाडौं, साउन २० :

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंकी याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गरेको छ ।

साथै बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने र बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ । 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय:

१. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।

२. दोस्रो, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गर्ने।

३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने ।

४. पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने ।

५. बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।

६. विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने ।

७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने ।