
करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले १५ जना विजेता र एक जना बम्पर उपहार विजेता छनोट गरे।
विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत रु १० लाख कुपन नम्बर ००७३१५२५४४९३ लाई परेको छ । यो कुपन भएका व्यक्ति शिवकृष्ण जनरल स्टोरबाट २५० को सामान खरिद गरी कार्यक्रममा सहभागी भएका थिए ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने–दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई बढावा दिन मद्दत मिल्ने बताए ।
उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउनेमा विश्वास व्यक्त गरे।
“हामी बिलिङ कल्चरमा जानुपर्छ । सबै कारोबार अभिलेखमा आउनुपर्छ । नागरिकबाट कति कर उठ्यो र त्यो रकम कहाँ खर्च भयो भन्ने कुरा पारदर्शी रूपमा देखिने सार्वजनिक वित्त प्रणाली निर्माण गर्नु हाम्रो लक्ष्य हो”, उनले भने ।
डिजिटल भुक्तानीमार्फत भएका कारोबार स्वतः प्रणालीमा अभिलेख हुने व्यवस्था गरिएको छ । पहिलो चरणमै करिब दुई करोड ५६ लाख कारोबार र ७६ अर्ब भन्दा बढी रकमका प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा मासिक कारोबार खर्बौ पुग्ने विश्वास अर्थमन्त्रीले व्यक्त गरे ।
“कार्यक्रमले धेरै करदातालाई डिजिटल माध्यम प्रयोग गर्न, बिल लिन–दिन र करको दायरामा आउन प्रोत्साहित गर्छ”, उनले भने, “राजस्व चुहावट नियन्त्रण गर्दै औपचारिक अर्थतन्त्र विस्तार गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ ।”
सरकारले बिल बिजक (भ्याट बिल) लिने–दिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरु गरेको हो ।
त्यस अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले चालु आर्थिक वर्षको साउन १ देखि १५ गतेसम्म दैनिक तथा पहिलो पाक्षिकको बम्पर उपहारका विजेता कम्प्युटर प्रणालीमार्फत छनोट गरिएको जानकारी दिए ।
उनका अनुसार विजेता छनोटका लागि ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म ¥यान्डम स्याम्पलिङ विथआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको छ । यस विधिबाट सबै कुपनले समान अवसर पाउने, एउटै कुपन एउटै छनोटमा दोहोरिन नसक्ने तथा छनोट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र सुरक्षित हुने उनको भनाइ छ ।
यही साउन १ देखि १५ गतेसम्म ७ हजार ७७ वटा नगद कारोबारबाट करिब ८ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा खरिदको विवरण विभागको वेबसाइटमा प्रविष्ट गरिएको छ ।
विवरणअनुसार तीन हजार ९१५ विक्रेतासँग भएका कारोबार समावेश छन्भने विद्युतीय भुक्तानीमार्फत दुई करोड ५६ लाख ८ हजार ९४ वटा कारोबार भएका छन् । कुल कारोबार रकम रु ७६ अर्ब ६० करोड तीन लाख २३ हजार ३८१ भएको छ । डिजिटल माध्यमबाट भएका कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था छ ।