
काठमाडौं, साउन २२ :
नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको छ । शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको हो ।
महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । उक्त बुँदामा महासंघले विगतमा भएका सहमति कार्यान्वयन र समसामयिक शैक्षिक तथा पेसागत मागहरूलाई समेटेको छ ।
आन्दोलनको औपचारिक मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यदललाई दिइएको महासंघले जनाएको छ । यसअघि पनि झन्डै एक महिनासम्म पठनपाठन बन्द गरेर देशभरका शिक्षकहरु काठमाडौंमा उत्रिएका थिए । तत्कालीन सरकार सहमति गर्न बाध्य भए पनि त्यसलाई हालसम्म पनि कार्यान्वयन नगरिएकोमा शिक्षकहरु आन्दोलित हुने अवस्थामा पुगेका हुन् ।