
शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये १० जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचीअनुसार दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द संजेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने अन्तिम प्रतिस्पर्धामा परेका छन्।
मन्त्रालयले पोखरेल, पराजुली, लुइटेल, नकर्मी र श्रेष्ठलाई साउन २२ गते बिहान ८ बजे तथा जोशी, बराल, संजेल, शर्मा र न्यौपानेलाई सोही दिन दिउँसो १ बजे प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। मन्त्रालयका अनुसार प्रत्येक उम्मेदवारले १५ मिनेटको प्रस्तुतीकरण गर्नेछन् ।उम्मेदवारलाई तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै सक्कल कागजातसहित उपस्थित हुन मन्त्रालयले आग्रह गरेको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिका अनुसार उक्त पदका लागि ३५ जनाले आवेदन दिएका थिए। सरकारले अध्यादेशमार्फत पदमुक्त गरेका पूर्वउपकुलपति अच्युत वाग्ले भने संक्षिप्त सूचीमा पर्न सकेनन्।
अब संक्षिप्त सूचीमा रहेका उम्मेदवारमध्येबाट तीन जनाको नाम उपकुलपति पदका लागि सिफारिस गरिनेछ। सिफारिस गरिएका तीन जनामध्येबाट विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्।