
थाइल्याण्डका प्रधानमन्त्रीले बैंककको बाहिरी क्षेत्रमा एक किशोरले चलाएको गोलीकाण्डमा ८ जनाको मृत्यु र २२ जना घाइते भएपछि नयाँ बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने प्रतिबद्धता जनाएका छन्।
१४ वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबा–हजुरआमाको हत्या गरेपछि विद्यार्थीका रूपमा अध्ययनरत रहेको नोनथाबुरीस्थित देब्सिरिन विद्यालय पुगेका थिए। त्यहाँ उनले पाँच जना शिक्षकको हत्या गरेपछि आफैँले पनि ज्यान लिए। पछि थाइल्याण्डका सञ्चार माध्यमहरूले गोली लागेर घाइते भएका एक विद्यार्थीको पनि मृत्यु भएको जनाएका थिए।
घटनापछि प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने नयाँ कानुन ल्याउने योजना रहेको बताए। प्रस्तावित कानुनअनुसार ड्युटीमा रहेका सरकारी अधिकारीहरूले मात्र बन्दुक बोक्न पाउने व्यवस्था गरिनेछ।
शिक्षिकालाई गोली हान्दा म उहाँकै अगाडि उभिएको थिएँ : थाइ विद्यार्थीको भनाइ
प्रहरी कर्णेल थाड्साकोर्न कोन्थोङका अनुसार घटनामा प्रयोग भएको बन्दुक र गोली किशोरका हजुरबाको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त बन्दुक हजुरबाको सुत्ने कोठाभित्र खोजिएको संकेत भेटिएको प्रहरीले जनाएको छ।
अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त बन्दुक कानुनी रूपमा दर्ता गरिएको र त्यसका लागि अनुमति प्राप्त थियो।
दक्षिण–पूर्वी एसियामा थाइल्यान्डमा नागरिकको बन्दुक स्वामित्व दर उच्चमध्ये एक रहेको छ। देशमा नागरिकको स्वामित्वमा करिब १ करोड ३ लाख बन्दुक रहेको अनुमान छ। तीमध्ये करिब ४० लाख बन्दुक अवैध रूपमा राखिएको विश्वास गरिन्छ।
थाइल्यान्डमा बन्दुकसम्बन्धी कानुन कडा छ। अवैध रूपमा हतियार राख्नेलाई १० वर्षसम्म जेल सजाय हुन सक्छ। तर यी कानुनको प्रभावकारी कार्यान्वयन भने लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ।
गृहमन्त्रीका रूपमा आफ्नो कार्यकालमा प्रधानमन्त्री अनुतिनले बन्दुक नियन्त्रणसम्बन्धी विभिन्न कानुन तथा उपायहरू अघि बढाएका थिए। त्यसमा नयाँ बन्दुकको लाइसेन्स जारी गर्न अस्थायी प्रतिबन्ध तथा बन्दुक आयातमा प्रतिबन्धसम्बन्धी व्यवस्था पनि समावेश थियो।
शुक्रबार बोल्दै प्रधानमन्त्री अनुतिनले यो दुःखद घटना हुनै नहुने घटना थियो भने।
उनले थपे म पीडितहरूका लागि दुःखी मात्र छैन यो घटना भएकोमा पनि दुःखी छु। हाम्रो देशमा यस्तो घटना कसरी हुन सक्छ?