
प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपाका नेता मनिष झाले जवाफ फर्काएका छन्।
प्रधानमन्त्री शाहले हिजो मध्यरातमा फेसबुकमा सत्यको पक्षमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने स्टाटस लेखेका थिए। त्यसको जवाफ आज नेता झाले फेसबुक मार्फत नै दिएका हुन् ।
हिजो सरकारको कार्य शैलीलाई लिएर सदनमा सत्ता पक्षकै सांसदहरूबाट चर्को आलोचना भएपछि प्रधानमन्त्रीले लेखेका थिए: "केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।"
त्यसमा जवाफ दिँदै नेता झाले परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको बताएका छन्। झाले फेसबुकमा लेखेका छन् "हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।"
हिजो सदनमा बोल्दै सरकारमाथि कुनै शङ्का नभएपनि सञ्चालनमा ढङ्ग नपुगेको टिप्पणी नेता झाले गरेका थिए।
उनले भने "सरकारमाथि कुनै कुनै पनि शङ्का छैन। कुनै प्रश्न छैन। तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने लाग्छ। त्यो स्वीकार्नु पर्छ। आफूलाई के थाहा छैन भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ। त्यसैले राज्य सञ्चालनको कुराहरूमा ढङ्ग सुधार्नुपर्छ।"
उनले निर्वाचित प्रतिनिधि जनतासँग जोडिनु पर्ने भन्दै कालो चस्मा पनि हटाउनुपर्ने टिप्पणी गरेका थिए । सदनमा आफ्नै सांसदहरुले सरकारको विरोधमा टिप्पणी गरेकपछि हिजोराती प्रधानमन्त्री शाहले पैसबुकमा स्टाटस लेखेका थिए ।