काठमाडौं, साउन २४ :

प्रधानमन्त्री बालेन शाहले आफूले सरकारको नेतृत्व सम्हालेपछि सरकारी उद्योग तथा संस्थानहरू सुधारको दिशामा अघि बढेको दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नेपाल औषधि लिमिटेड नाफामा गएको, हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको तथा नेपाल वायुसेवा निगमको आम्दानी र अकुपेन्सी बढेको जानकारी दिएका छन्।

उनका अनुसार नेपाल औषधि लिमिटेडले गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ भने चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिएको छ। हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भइसकेको छ।

त्यस्तै, गत आर्थिक वर्षको चैतदेखि असारसम्म नेपाल वायुसेवा निगमले ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको र अकुपेन्सी ८६ प्रतिशत पुगेको शाहले बताएका छन्।

दुग्ध विकास संस्थान (डीडीसी) को किसान बक्यौता भुक्तानी चक्र छोट्याइएको, दैनिक बिक्री ३५ प्रतिशतले बढेको तथा सिंहदरबार वैद्यखानाको औषधि कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढेको उनको दाबी छ।

नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको हुँदा त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्। रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योगलाई पनि इमान्दार प्रयास, कानुन कार्यान्वयन र समन्वयमार्फत पुनर्जीवन दिन सकिने विश्वास उनले व्यक्त गरेका छन्।

तर पछिल्लो समय जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका विषयमा सरकारको ध्यान नगएकोमा भने निराशा व्यक्त हुन थालेको छ । पासपोर्ट बनाउन जनताले खेप्नु परेको सास्ती र खाना पकाउने ग्यासको लागि मध्यरातसम्म लाइन बस्नु पर्ने अवस्थाले पनि जनतामा यो किसिमको निराशा व्यक्त हुन थालेको हो । केही होला कि भन्न् आशा र विश्वासले मत खन्याएका जनताको मनमा ठेस लाग्न पुग्यो भने त्यसले नराम्रो परिणति ल्याउन पनि सक्छ ।सरकारले त्यसतर्फ पनि गम्भीर भएर ध्यान दिन आवश्यक छ ।