
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने देशमा आपत्काल घोषणा गरिएको छ।
मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भग्नावशेषमा अझै धेरै मानिस फसेको हुन सक्ने आशंका गरिएको छ।
देशको भूगर्भीय सेवाका अनुसार ७.४ म्याग्निच्युडको उक्त भूकम्प स्थानीय समयअनुसार बिहान ७:३४ बजे चोको प्रान्तमा १०३ किलोमिटर (६४ माइल) गहिराइमा गएको थियो। यसको कम्पन पश्चिमी कोलम्बियाका सयौँ माइलसम्म फैलिएको महसुस गरिएको थियो।
धेरैजसो मानिसको मृत्यु कोलम्बियाको कफी उत्पादनका लागि प्रसिद्ध क्षेत्रको सहर पेरेइरामा भएको छ। आसपासका सहरहरू तथा भाये डेल काउका क्षेत्रमा पनि भूकम्पले ठूलो क्षति पुर्याएको छ।
भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पालमार गाउँनजिकै थियो। तर स्थानीय मेयर लियोन फाबियो मारिन मोनकाडाका अनुसार त्यहाँ आश्चर्यजनक रूपमा कुनै मानवीय क्षति वा घाइते भएको खबर छैन। यद्यपि गाउँमा आउने–जाने सडकहरू भने क्षतिग्रस्त भएका छन्।