काठमाडौं, साउन २६ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले जनताको पीडा महसुस गर्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्रीको व्यवहारलाई ‘बालहठ’ र ‘पदीय गैरजिम्मेवारी’को संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साम्पाङले सीमा मिचिएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेको दुई महिना बितिसक्दा पनि प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ नदिनु गैरजिम्मेवार भएको बताए ।

उनले साढे दुई महिनादेखि संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि उहाँ नआएको भन्दै प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले बालहठ देखाउन नहुने टिप्पणी गरे ।

साम्पाङले देशमा जनताले सुरक्षा, न्याय र आधारभूत सेवा–सुविधा पाउन नसकेको बताए । ग्यासका लागि घण्टौँ घाममा उभिनुपर्ने अवस्था रहे पनि सरकारले जनताको पीडा महसुस गर्न नसकेको उनको आरोप थियो ।

आफूमाथि कुटपिटको धम्की आएको विषयमा राज्यको ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित व्यक्तिमाथि कारबाही नभएको भन्दै उनले असन्तुष्टि जनाए । माइतीघर मण्डलामा न्यायको माग गर्दै विभिन्न व्यक्ति तथा समूह लामो समयदेखि आन्दोलनमा बसे पनि उनीहरूले न्याय पाउन नसकेको उनले बताए ।

ठूलो आशाका साथ जनताले सरकारलाई मत दिए पनि अपेक्षाअनुसार परिवर्तन हुन नसकेको साम्पाङको भनाइ थियो । सरकारभित्रै मन्त्रीहरूबीच समन्वय र विश्वासको कमी देखिएको उनले बताए ।

देशमा पर्याप्त अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न र ठगीमा संलग्नलाई कारबाही गर्न सरकार असफल भएको आरोप लगाए ।