काठमाडौं, साउन २६ :

ब्रह्मलीन स्वामी चन्द्रेशको तृतीय वार्षिकीका अवसरमा बुढानीलकण्ठ आश्रमले पूजा, आराधना तथा कविता वाचन गरी उनीप्रति श्रद्धा अर्पण गरेको छ।

आश्रमद्वारा सोमबार आयोजित कार्यक्रममा स्वामी चन्द्रेशको आध्यात्मिक, शैक्षिक, साहित्यिक तथा कलाक्षेत्रमा रहेको योगदानको स्मरण गर्दै उनको व्यक्तित्व र कृतित्वबारे चर्चा गरिएको थियो।

शिक्षाविद् तथा साहित्यकार डा. रामप्रसाद दाहाल प्रमुख अतिथि र साहित्यकार ठाकुर शर्मा सभापति रहेको उक्त कार्यक्रममा आश्रमका संरक्षक स्वामी गुञ्जनजी महाराज, स्वामी ब्रह्मप्रिय प्रेमस्वरूप, साहित्यकार रामप्रसाद पन्त, डा. खेम कोइराला बन्धु लगायतको सहभागिता थियो।

प्रमुख अतिथि डा. दाहालले स्वामी चन्द्रेशको व्यक्तित्वका दुई प्रमुख पाटा रहेको चर्चा गरे। उनका अनुसार स्वामी चन्द्रेशको एउटा पाटो आध्यात्मिक चिन्तन, चरित्र निर्माण, ज्ञान, ध्यान, योग तथा भक्तिसँग सम्बन्धित थियो भने अर्को पाटो गुरुकुल स्थापना, चित्रकला, भाषा–साहित्य तथा ‘त्रिनेत्री शिक्षा’को अवधारणासँग जोडिएको थियो।

डा. दाहालले स्वामी चन्द्रेश भायोलिनवादकसमेत रहेको उल्लेख गर्दै उनको व्यक्तित्व बहुआयामिक रहेको बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले स्वामी चन्द्रेशको जीवन, साधना र आश्रममार्फत उनले पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए। साथै उनले आध्यात्मिक क्षेत्रसँगै शिक्षा, कला तथा साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरे।

त्यसैगरी, कार्यक्रममा त्रिलोचन आचार्य, द्वारिका कुइँकेल, रीता खतिवडा, पुरुषोत्तम मरहट्टा, विष्णुवर सिंह थापा लगायतका कविहरूले स्वामी चन्द्रेशप्रति समर्पित करिब एक दर्जन कविता वाचन गरेका थिए।