ललितपुर, साउन २६ :

नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको छानबिनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उक्त घटनाको छानबिनका लागि गठन भएको सरकारी संयन्त्रले कमजोरी लुकाउने काम गर्ने संशय व्यक्त गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको हो ।

बैठकले उक्त घटनामा पीडित परिवारसंग भएको सम्झौता अनुसार ४ जनालाई सहित घोषणा गर्न बाहेक अन्य कुनै विषय कार्यान्वयन नभएकाले सम्झौताहरूको अविलम्ब कार्यान्वयन गरी तत्काल काम अगाडि बढाउन समेत माग गरेको छ । साथै बैठकले सरकारले पटक–पटक सहमति खोज्ने तर तिनको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने प्रवृत्तिले समाज र राष्ट्रमा नैराश्यता बढाउँदै लगेको र ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वास टुट्दै गएको निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा १५ औं महाधिवेशन तयारी, सदस्यता अद्यावधिक र वितरण लगाएतका बिषयमा समेत सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको कांग्रेस सह–-महामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।

धेरै निर्वाचन क्षेत्र र जिल्लाहरूमा क्रियाशील सदस्यताको विषय टुङ्गो लागिसकेकाले पार्टी महाधिवेशनको दिशामा अघि बढिरहेको उनले बताए । बैठकमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको कार्यसम्पादन, तिनलाई पूर्णता दिने विषय र तिनका विधानका सम्बन्धमा आवश्यक छलफल भइरहेको उनले जानकारी दिए ।