
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज राजीनामा दिने तयारी गरेका छन् ।
सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीसँग ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने दुई विकल्प छन् । आज त्यसको अन्तिम दिन हो। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकार जोगाउन २७ सांसदको आवश्यक पर्छ। अहिले मुख्यमन्त्री शाहसँग कांग्रेसका १८ सांसदको समर्थन रहेको छ। तीमध्ये कांग्रेसका प्रकाश देउवा अमेरिका छन्। त्यसैले मुख्यमन्त्री शाहका अगाडि विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने दुई विकल्प छन् ।
यही विकल्पका बिषयमा छलफल गर्न आज पनि काँग्रेस संसदीय दलको बैठक बोलाइएको छ। आज फेरि ३ बजे बैठक बस्दैछ ।
मुख्यमन्त्रीले हिजो सभामुख भीम भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै संसद् आह्वान गर्न पत्र पठाएका थिए। हिजै यस विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आज साँझ ५ बजे संसद् आह्वान गर्ने विषयमा पनि छलफल भएको थियो।
सरकार जोगाउन मुख्यमन्त्री शाहलाई काँग्रेसको मतसहित थप १० मत आवश्यक पर्दछ। थप मतको सुनिश्चितता नुहुँदा राजीनामा दिन काँग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीलाई सुझाव दिएका छन् ।
कांग्रेसका केही सांसद हिजै पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न काठमाडौँ पुगिसकेका छन्। यस्तो अवस्थामा आफ्नै सांसद नहुँदा मुख्यमन्त्रीले राजीनामाको विकल्प रोज्ने सम्भावना बढी देखिन्छ । तर काठमाडौंमा रहेका काँग्रेसका सांसदहरूलाई मुख्यमन्त्री शाहले तत्काल धनगढी आउन भनेका छन् । केही सांसदहरु फर्केका पनि छन् ।