काठमाडौं, साउन २८ :

नेपाली कांग्रेसको सभापति आखिर को हो ?  पार्टीभित्र दुई सभापतिको अभ्यास देखिन थालेको छ। एकातिर गगनकुमार थापा सभापतिको हैसियतमा पार्टी सञ्चालन गरिरहेका छन् भने अर्कोतिर शेरबहादुर देउवाको नाम र पदसहितको नेमप्लेटसमेत सार्वजनिक रूपमा देखिन थालेको छ। यसले कांग्रेसको आन्तरिक विवादलाई केवल गुटगत प्रतिस्पर्धामा सीमित नराखी पार्टी विभाजनकै दिशातर्फ धकेलिएको संकेत दिएको छ।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दिएको मान्यता र त्यसैलाई आधार मानेर सर्वोच्च अदालतबाट भएको पछिल्लो प्रक्रियाका कारण गगनकुमार थापा सभापतिको हैसियतमा देखिएका छन्। तर निर्वाचन आयोगले आफ्नो अघिल्लो निर्णय पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएपछि देउवा पक्ष पनि पुनः सक्रिय भएको छ। यहीबीच चुनदेवीस्थित इतर पक्षको सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापतिको रूपमा प्रस्तुत गरिएको नेमप्लेट देखिनु सामान्य राजनीतिक गतिविधि मात्र होइन, कांग्रेसभित्रको संकट कति गहिरिएको छ भन्ने संकेत हो।

सानेपास्थित पार्टी कार्यालयको एउटा कोठामा सभापति गगनकुमार थापा र बाहिर देउवा पक्षले पनि आफूलाई सभापतिको दाबेदारका रूपमा प्रस्तुत गर्ने अवस्था सिर्जना हुनु कांग्रेसका लागि अत्यन्त विडम्बनापूर्ण दृश्य हो। एउटै पार्टीमा दुई सभापतिको अभ्यास कांग्रेसको विधानले स्वीकार गरेको व्यवस्था होइन। कसैले आफ्नो पक्षलाई आधिकारिक देखाउन नेमप्लेट राख्दैमा वा राजनीतिक शक्ति प्रदर्शन गर्दैमा कानुनी हैसियत स्थापित हुँदैन। पार्टीको आधिकारिकता अन्ततः विधान, संवैधानिक निकायका निर्णय र अदालतको अन्तिम फैसलाले निर्धारण गर्ने विषय हो।

अहिले कांग्रेसका दुवै पक्ष अदालतको अन्तिम निर्णयको प्रतीक्षामा छन्। त्यसैले यो विवादको अन्तिम टुंगो राजनीतिक शक्ति प्रदर्शनले होइन, कानुनी प्रक्रियाले लगाउनेछ। तर त्यसअघि नै पार्टीका दुई पक्षले समानान्तर रूपमा नेतृत्वको अभ्यास गर्न थाले भने त्यसको सबैभन्दा ठूलो क्षति नेपाली कांग्रेसको संगठनात्मक एकता र राजनीतिक विश्वसनीयतामाथि पर्नेछ।

शेरबहादुर देउवा नेपाली कांग्रेसका मात्र होइन, नेपालको राजनीतिमा लामो अनुभव बोकेका नेता हुन्।  यस्तो अवस्थामा सक्रिय राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर पार्टीका अभिभावकको भूमिका निर्वाह गर्नु उनीप्रतिको अपेक्षा पनि हो। विवादको यस्तो संवेदनशील घडीमा कुनै पक्षको उक्साहटमा परेर पुनः नेतृत्वको दाबीमा मैदानमा उत्रिनु स्वयं देउवाको राजनीतिक विरासतका लागि पनि सहज सन्देश होइन।

कांग्रेसमा असहमति , गुट र उपगुट पनि नयाँ होइनन्। तर एउटै पार्टीमा दुईवटा नेतृत्व केन्द्र बन्नु भने सामान्य गुटबन्दीभन्दा धेरै गम्भीर विषय हो। आज नेमप्लेट दुईवटा देखिन थालेका छन् भने भोलि पार्टी कार्यालय, संगठन, निर्णय प्रक्रिया र निर्वाचन चिह्नको दाबीसमेत दुईतिर पुग्न सक्छ। त्यस्तो अवस्था आयो भने कांग्रेस औपचारिक रूपमा विभाजित भएको घोषणा नभए पनि व्यवहारमा विभाजनको अवस्थामा पुगिसकेको मान्नुपर्ने हुन्छ।

अहिले कांग्रेसका दुवै पक्षले शक्ति प्रदर्शनभन्दा संयम देखाउन आवश्यक छ। अदालतको अन्तिम निर्णय नआउँदै समानान्तर नेतृत्व र संगठन सञ्चालनको अभ्यासले समस्या समाधान गर्दैन, बरु विभाजनको खाडल अझ गहिरो बनाउँछ। कांग्रेसलाई साँच्चिकै एक राख्ने हो भने दुवै पक्षले आफूलाई मात्र सही ठान्ने जिद्दी छाडेर कानुनी प्रक्रियाको सम्मान गर्नुपर्छ।

कांग्रेस अहिले औपचारिक रूपमा विभाजित भइसकेको हो कि होइन भन्ने अन्तिम फैसला हुन बाँकी छ। तर दुई सभापतिको सार्वजनिक अभ्यास सुरु हुनु आफैंमा विभाजनको गम्भीर पूर्वसंकेत हो।