
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी भदौ १८ गते आयोजना गर्ने २३औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।
मञ्चले पिपल्स च्वाइस विधाका लागि भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आट्र्सका रवीन्द्र ढाँटलाई मनोनयनमा राखेको हो । पिपल्स च्वाइसको विजेता मञ्चसँग आबद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, खेलकुद पत्रकार मञ्चका सदस्य, सामाजिक सञ्जालका समर्थक तथा खल्तीमार्फत प्राप्त मतका आधारमा चयन हुनेछ । कुल मतभारमा खल्तीको ५० प्रतिशत तथा फेसबुक, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र मञ्चका सदस्यको ५० प्रतिशत मतभार रहनेछ ।
फेसबुकमार्फत मतदान गर्दा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्नेछ । यस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । मञ्चका अनुसार २०८२ सालभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आधार बनाएर यस वर्षको अवार्ड प्रदान गरिँदैछ । २३औं संस्करणमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा सम्मान प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ ।
गत संस्करणमा पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए ।