
करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा भएको छ । गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा स्वर्णिम वाग्ले र अर्थसचिव डा घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेका हुन् । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ । उक्त अवधिमा मात्रै तीन लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।
यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो । साथै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ ।
विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ । जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक–एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्। उनीहरूले कर कटाएर खुद १ लाख प्राप्त गर्नेछन् ।आजको कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ ।