काठमाडौं, भदौ ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना मन्त्री तथा सांसदहरुलाई संसदमा संयमित भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । बुधबार बसेको संसदीय दलको बैठकमा सभापति लामिछाने सांसद र मन्त्रीहरूको व्यवहार र भाषाप्रति विशेष चासो राख्दै यस्तो निर्देशन दिएका हुन् । बैठकमा उनीहरुको कार्यशैली र संसदमा भइरहेका प्रस्तुतिबारे छलफल गरेको छ।

संसदमा भएको प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेपछि त्यसको आलोचना हुन थालेको छ । आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेका छन्।

जनताका मुद्दालाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा विचार–विमर्श भएको थियो। संसद र समितिका बैठकमा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन्।