नवलपरासी, भदौ ४ :

पूर्वी नवलपरासीमा तीन दिनदेखि हराएका बालक सकुशल फेला परेका छन् । गैंडाकोट नगरपालिका–१४ भागराबाट मंगलबारदेखि हराएका  दुई वर्षीय बालक शिवान तामाङ आज जंगलमा फेला परेका हुन् । स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा घरबाट करिब चार किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको हो ।  

बालक रुँदै गरेको आवाज सुनेर सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले बताए । उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ ।  बालकका आमाबुवा रोजगारीका क्रममा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए ।

हजुरआमा जङ्गलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए ।  बालक पनि हजुरआमा पछ्याउँदै वनतर्फ लागे  तर, हजुरआमाले नाति पछि लागेको थाहै पाइनन् सोही क्रममा हराएको बुझिएको छ।