बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
समाचार अर्थतन्त्र

घोडेपानीमा आन्तरिक पर्यटकलाई होटलहरूमा छुट दिने निर्णय 

· शुक्रबार, ३ कात्तिक, २०८१ मा प्रकाशित
घोडेपानीमा आन्तरिक पर्यटकलाई होटलहरूमा छुट दिने निर्णय 
म्याग्दी, कात्तिक ३ :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । 

घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो । 

घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुनेगरि कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिनुभयो । 

“आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “चाडपर्वको समयमा घुम्न आउने पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।”

घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर- घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको पुनले बताउनुभयो । सवारीसाधनका अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुकदेउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ । 

समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ वटा सानाठूला सुविधायुक्‍त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुक्‍त कोठामा बास बस्न सकिन्छ । 

हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । 

समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको अवलोकन गर्न पाइन्छ ।

धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । 

मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार