
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको हिसाब देखाउँदै अन्य राजनीतिक दललाई आरोप-प्रत्यारोप नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले रास्वपाका नेता–कार्यकर्तालाई विगतका राजनीतिक दल र नेतृत्वको आलोचनामा मात्र सीमित नभई आगामी दिनमा मुलुक निर्माणका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजनासहित अघि बढ्न पनि आग्रह गरे।
केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिने क्रममा आइतबार सभापति लामिछानेले विगत ३५ वर्षमा के भयो भन्ने हिसाब खोज्नुभन्दा अबको ३५ वर्षमा मुलुकलाई कस्तो बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने बताए।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई केही गर्न नसके पनि गलत काम नगर्न आग्रह गरे। राजनीतिमा पद र व्यक्तिगत स्वार्थभन्दा देश र जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
लामिछानेले आफूले ‘किस्तीमा उपहार’ पाएको प्रधानमन्त्री पदसमेत हाँसीहाँसी छाडेको दाबी गरे। आवश्यक पर्दा नेता तथा कार्यकर्ताहरू त्याग गर्न तयार रहनुपर्ने उनले बताए।