काठमाडौं, भदौ १४ :

त्रिशूली नदीको तीव्र कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर सडकखण्ड भासिएपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। आइतबार बिहान सडक किनारको केही भाग नदीतर्फ खसेको थियो। त्रिशूली नदीमा पुनः ठूलो बाढी आएपछि कटान तीव्र बन्दै जाँदा सडकको पूर्ण रुपमा भासिएको हो।

बाढीको बेग सडकको भित्तामा ठोक्किँदा कटान बढ्दै गएपछि सडक भासिएको बताइएको छ। सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पैदल हिँडडुल गर्नसमेत जोखिमपूर्ण भएको छ भने सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ।

सडक भासिएपछि तत्कालै मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको सम्बन्धित अधिकारीले बताएका छन्। सडकको क्षति थप बढ्न सक्ने जोखिम रहेकाले अहिले उक्त सडकखण्डमा पैदल यात्रुसहित सबै प्रकारका आवागमन रोकिएको छ।