
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले एक साताभित्र सिर्सिया खोला आसपासका क्षेत्रमा उद्योगबाट फोहोर तथा प्रदूषित पदार्थ खोलामा मिसाउने काम बन्द गर्न अल्टिमेटम दिएकी छन्।
सोमबार मन्त्रालयमा सिर्सिया खोला आसपासका क्षेत्रमा उद्योगबाट फोहोर तथा प्रदूषित पदार्थ मिसाई खोलालाई दूषित बनाइएको विषयमा सम्बन्धित उद्योगका सञ्चालकहरूसँग छलफल गर्दै मन्त्री यादवले एक साताभित्र उद्योगको फोहर उद्योगभित्रै व्यवस्थापन गर्न अल्टिमेटम दिएकी हुन्।
सो अवधिभित्र आवश्यक व्यवस्थापन नगरे निरीक्षण टोलीले कानुनबमोजिम कडा कदम चाल्ने उनले चेतावनी दिइन्। वीरगञ्ज, बाराको सिमरा, पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र बिन्दबासिनी लगायत दर्जनौँ गाउँहरूको ‘लाइफलाइन’ सिर्सिया खोलामा प्रदुषण हुँदा स्थानीयहरु मर्कामा परेको उनले बताइन्।
उनले सिमरा–वीरगञ्ज कोरिडोरमा सञ्चालित दर्जनौँ उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी दायरा उल्लंघन गरी खोलालाई चरम प्रदूषित बनाएको उल्लेख गरिन् ।
खोलामा दूषित पानी सिधै मिसाइँदा किसानका गाईभैँसी लगायतका पशुचौपाया, जीवजन्तु तथा यस क्षेत्रमा बसोबास गर्ने लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यमा गम्भीर असर परेको उनले बताइन्। उनले सम्बन्धित सरकारी निकायहरूले पटक–पटक सचेत गराउँदा पनि हालसम्म कुनै सुधार नदेखिएको र स्थानीय जनताको निरन्तर गुनासो आएकाले मन्त्रालय यस विषयमा गम्भीर भएको बताइन् । मन्त्री यादवले सिर्सिया खोलालाई पुनर्जीवन दिन आ–आफ्नो तर्फबाट तत्काल सुधारात्मक कदम चाल्न उद्योगीहरूलाई आग्रह समेत गरिन ।