काठमाडौं, भदौ २६ :

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाको जानकारी प्राप्त भएलगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन् ।
  
मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ । स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा पवनजङ्ग रायमाझी पनि टोलीमा सहभागी छन् ।
  
उनले जिल्ला प्रशासन कार्यालय, सप्तरीबाट समेत छानबिन समिति गठन भएको तथा घटनाका समयमा ‘ड्युटी’ मा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाई छानबिन अघि बढाइएको जानकारी दिइन् ।
  
अस्पतालबाट प्राप्त प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको अवस्थामा रहेकी ३० वर्षीया बबिताकुमारी पासवान अस्पताल आएको मन्त्री मेहताले बताइन् । प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डमा भर्ना गरिएको थियो ।
  
आवश्यक जाँचको रिपोर्ट उपलब्ध नभएकाले थप अत्यावश्यक जाँच गर्न सुझाव दिइएकामा उनी र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको श्ययामा नरही बाहिरिनुभएको र बिहान करिब ४:४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रीले संसद्लाई जानकारी गराइन् ।  
  
प्रसूति भएपछि आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा ल्याइएको र ‘ड्युटी’ मा रहेका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन अनुरोध गरेको भए पनि उहाँ अस्पतालबाट बाहिरिनुभएको जानकारी प्राप्त भएको मन्त्री मेहताको भनाइ थियो ।
  
मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै आमा र नवजात शिशुलाई खोजी गरी अस्पताल ल्याएर उपचार गर्न निर्देशन दिएको र हाल दुवैलाई अस्पतालको बेड नं २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा स्याहार भइरहेको उहाँले जानकारी दिनुभयो । हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
  
मन्त्री मेहताले सेवाग्राही अस्पताल परिसर बाहिर पुग्ने अवस्था किन सिर्जना भयो तथा अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट तथ्यका आधारमा स्पष्ट हुने बताइन् ।
  
मातृ तथा नवजात शिशुको जीवनरक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै उनले यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर रहेको बताए ।
  
सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउँदै मन्त्री मेहताले प्रसूति सेवाका लागि आउने–जाने यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गरिन् ।
  
मन्त्री मेहताले सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुँदाहुँदै कुनै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने समेत बताइन् ।
   
सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएकाले कुनै पनि महिला प्रसव पीडामा स्वास्थ्य संस्थाको ढोका बाहिर बस्नुपर्ने, सेवा नपाएर फर्किनुपर्ने वा असुरक्षित रूपमा प्रसूति हुनुपर्ने अवस्था आगामी दिनमा आउन नदिने मन्त्री मेहताले प्रतिबद्धता समेत व्यक्त गरिन् ।