प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ ।
आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गरिने संसद् सचिवालयले जनाएको छ ।
साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेस भएका कार्य योजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।
प्रस्तावित १३ जना राजदूतहरू विरुद्ध ७ वटा उजुरी परेको छ ।
२ वटा उजुरी सबै जना विरुद्ध परेको छ भने ५ वटा एक/एक जना व्यक्ति तोकेर परेको छ ।
२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका लागि राजदूतहरूको सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि पूर्व प्रधानसेनापति गौरव शम्शेर जंग बहादुर राणालाई सिफारिस गरेको छ ।
यसैगरी जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेवियाका लागि गिरी बहादुर सुनारलाई सिफारिस गरेको छ ।