भारतको जगद्गुरु श्री आदि शंकराचार्यद्वारा स्थापित ‘श्री श्री जगद्गुरु शंकराचार्य महासंस्थानम्, दक्षिणाम्नाय श्री शारदा पीठम्, श्रृंगेरी’ले नेपालका विपद् प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढी, विपद् प्रभावित जनसमुदायको राहत र पुनर्स्थापनाका लागि जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीको निर्णय बमोजिम संस्थाको तर्फबाट गृहमन्त्री सुधन गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो।
सम्पूर्ण विश्व नै एक परिवार हो भन्ने शाश्वत आदर्शलाई आत्मसात गर्दै दुःखी र विपत्तिमा परेका सह-मानवहरूलाई सहयोग गर्नु सबैको सामूहिक दायित्व भएको मठले जनाएको छ।
यस कठिन परिस्थितिमा नेपालका जनता, विशेष गरी विपद्बाट प्रभावित परिवारहरूलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने मठद्वारा पठाइएको सन्देशमा आशीर्वाद व्यक्त गरिएको छ। साथै प्रभावित क्षेत्रहरूको शीघ्र पुनर्लाभ, शान्ति र समृद्धिका लागि प्रार्थना गर्दै यो सहयोगले सरकारको राहत तथा पुनर्स्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।