काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित र दीर्घकालीन रूपमा समाधान गर्न मेट्रो रेल आयोजनालाई अगाडि बढाउने सरकारको योजनाप्रति जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले चासो देखाएको छ ।
यसैक्रममा भक्तपुरको जगातीबाट रत्नपार्कसम्म मेट्रो रेलको प्राविधिक अध्ययन भइरहँदा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सो आयोजनालाई कागेश्वरी मनोहरा हुँदै शङ्खरापुर (साँखु) सम्म विस्तार गर्न जोड दिएका छन।
जाईकाको प्राविधिक टोलीसँग बिहीबार भएको छलफलमा उनले प्रस्तावित मेट्रो रेलमार्ग नगरपालिकाको वडा नं. ९ हुँदै साँखुसम्म विस्तार गर्नुपर्ने विषय उठाएका हुन्।
हाल अध्ययन भइरहेको १४.५ किलोमिटर दूरीको रुटलाई मास्टर प्लानमा शङ्खरापुरसम्म जोड्न सकिएमा अन्य जिल्लाको नेटवर्कसँग जोड्न अझै सहज, व्यावहारिक र कम लागतको हुने उनको तर्क छ। मेयर कार्कीले काठमाडौँ र भक्तपुरको मुख्य (जंक्शन पोइन्ट) पेप्सीकोला रहेको र त्यहाँ विमानस्थललगायत विभिन्न क्षेत्रबाट मानिसहरूको आवतजावत हुने हुनाले यो क्षेत्र यातायातको दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको बताए।
सिन्धुली, रामेछाप तथा हेलम्बु क्षेत्रबाट आउने पर्यटक, स्थानीय र व्यावसायिक यात्रुहरूका लागि यसले दीर्घकालीन फाइदा पुर्याउने उनको भनाइ छ। साथै, पेप्सीकोला र विमानस्थलको इन्ट्री गेट आसपासका क्षेत्रमा मेट्रो ट्रेनको स्टेसन हुनु अति जरुरी रहेको औँल्याउँदै उनले यसले विमानस्थल पुग्न थपिने अनावश्यक समय बचत हुने र काठमाडौँको समग्र ट्रान्सपोर्ट सेक्सन भूगोलसँग जोडिने विश्वास व्यक्त गरे।
करिब ११० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुने भनिएको यो मेट्रो रेल प्रणालीले क्लिन इनर्जी प्रयोग गर्ने हुनाले पर्यावरणीय हिसाबले समेत यो अत्यन्त सकारात्मक रहने बताइएको छ।
जाईकाको प्राविधिक टोलीले सन् २०५० को लक्ष्यलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाको सहरी यातायात प्रणालीका लागि गुरुयोजना तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहयोग गरिरहेको छ।
काठमाडौँ उपत्यकामा बढ्दै गएको सवारी साधन तथा यात्रुको चापलाई सम्बोधन गर्नका लागि प्राथमिकता प्राप्त आयोजनाको रूपमा सरकारले मेट्रो रेलको प्रस्ताव अघि बढाएको हो ।
नगरपालिकामा भएको छलफल कार्यक्रममा उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साह, वडाध्यक्षहरु र विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।