विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकहरुलाई तिर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैया मात्र बाँकी रहेको जनाएको छ ।
कुनै समय करिब ३५ करोड रुपैया सम्म कृषकको दुधको बक्यौता रहेकोमा दुध तथा दुधजन्य पदार्थको विक्री बढ्दै गएपछि बक्यौता रकम घटेकोे विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ । १५/१५ दिनमा दुध कृषकहरुलाई किस्ता रकम बुझाउदै आएको विराटनगर दुग्ध वितरण आयोजनाले अहिले साउन र भाद्र महिनाको किस्ताको रकम तिर्नुपर्ने स्थिति रहेको र बाकी रनिङ बील मात्र बाँकी रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी दिए । उनले अहिले दुध तथा दुग्धजन्य पदार्थको विक्री ५० प्रतिशत सम्म बढेको र घिउको मौज्दात ५ मेट्रिक टन मात्र रहेको बताए।
पूर्वका कृषकहरुबाट दैनिक करिब १० हजार ५ सय लिटर दुध संकलन गरिरहेको र करिब ५ हजार लिटर बराबरको दुध र दुग्धजन्य पदार्थ बिक्री गरिरहेको विराटनगर दुग्ध वितरण आयोजनाले जनाएको छ । कार्तिक महिना देखि दुध संकलन बढेर दैनिक करिब १५ हजार लिटर सम्म पुग्ने र दैनिक खपत हुने दुध तथा दुधजन्य पदार्थ बाहेकको करिब १० हजार लिटर दुधको पाउडर दुध बनाउने तयारी रहेको विराटनगर दुग्ध वितरण आयोजनाले जानकारी दिएको छ ।