शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार शिक्षा

त्रिविको अतिक्रमित जग्गा खाली गर्न सातदिने अल्टिमेटम

तोकिएको अवधिमा जग्गा खाली नगरे बल प्रयोग गरेर हटाइन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० मिनेट अगाडि प्रकाशित
त्रिविको अतिक्रमित जग्गा खाली गर्न सातदिने अल्टिमेटम
काठमाडौं, मंसिर ११ :

 त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो जग्गा अनधिकृत रूपमा भोगचलन गर्दै आएका संघसंस्था, निकाय तथा व्यक्तिलाई सात दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको छ । यसअघि ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि जग्गा फिर्ता नभएपछि विश्वविद्यालयले पुनः ताकेता गरेको हो ।

त्रिवि रजिस्ट्रार कार्यालयले मूल गेटअगाडिको पेट्रोल पम्प, बागबानी, नर्सरी र राधास्वामी सत्संग केन्द्रलाई सातदिने पत्राचार गर्दै जग्गा खाली गर्न भनेको छ । तोकिएको अवधिमा जग्गा खाली नगरे सरकारको सहयोगमा आवश्यक बल प्रयोग गरेर भए पनि अतिक्रमण हटाउने तयारी गरिएको त्रिविले जनाएको छ ।

त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको २०८१ को प्रतिवेदनमा अतिक्रमणमा परेको उल्लेख भएका तथा अन्य अनधिकृत रूपमा प्रयोग भइरहेका जग्गा फिर्ता गराउन प्रक्रिया अघि बढाइएको रजिस्ट्रार रविन्द्र शिवाकोटीले बताए । उनका अनुसार सरकारी निकायको समन्वयमा जग्गा प्रयोग गरिरहेका संस्थासँग भने छलफल गरी कानुनी सम्झौता गर्ने तयारी छ ।

त्रिविको जग्गा भोगचलन गर्ने करिब दुई दर्जन संघसंस्था, निकाय तथा व्यक्ति छन् । विश्वविद्यालयले सबैलाई हटाउनेभन्दा पनि आवश्यकताअनुसार कानुनी सम्झौता गरेर जग्गा प्रयोग गर्न दिने नीति लिएको छ । क्रिकेट रंगशाला, ल्याबोरेटरी स्कुल, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौं अनुसन्धान तथा शिक्षा केन्द्र (केसीआरई) र कीर्तिपुर नगरपालिकासँग सम्झौता प्रक्रियामार्फत जग्गा उपयोगको व्यवस्था मिलाउने त्रिविको तयारी छ ।

यसअघि गत कात्तिक १८ गते शिक्षामन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलले अतिक्रमित ७०५ रोपनी जग्गा फिर्ता भएको घोषणा गरेका थिए । तर, अझै अनधिकृत भोगचलन कायम रहेपछि विश्वविद्यालयले जग्गा फिर्ता गराउने अभियानलाई पुनः तीव्रता दिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार