
काठमाडौँ, साउन २० : बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा विकास गरिने बताउनुभएको छ ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका-७ वडा कमिटीले आज गुण्डूमा आयोजना गरेको विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभार गर्दै मन्त्री थापाले यि दुई अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा विकास गरेर उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभयोे।
अब भक्तपुर र पूर्वका जनताले गुणस्तरीय उपचार खोज्दै मनोहरा खोला काटेर काठमाडौँ छिर्न नपरोस् भनेर महत्वपूर्ण योजनाका साथ काम अगाडि बढाएको उहाँको भनाइ छ । प्रदेशका ११ वटा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उहाँले जानकारी दिनुभयो ।
क्यान्सर पीडितलाई एकलाख रुपैयाँ अनुदान दिने मन्त्रीपरिषद्को पहिलो बैठकमै निर्णय गराइसकेको जानकारी दिनुभयो । मन्त्री थापाले आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार औषधि नपाएर ज्यान गुमाउनु नपरोस् भनेर बागमती प्रदेशका सबै जिल्ला अस्पताललाई निर्देशन दिइसकेको पनि उल्लेख गर्नुभयो ।
थापा भक्तपुर क्षेत्र नम्बर २ प्रदेश (१)बाट निर्वाचित प्रदेशसभा सदस्य समेत हुनुहुन्छ ।