
काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रुसबीचको ऐतिहासिक सम्बन्धलाई पुनः ताजगीकरण गर्नुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसको महिला भलिबल टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालले सोभियत सङ्घकालदेखि नै रुसबाट शिक्षा र यातायातजस्ता क्षेत्रमा महत्त्वपूर्ण सहयोग प्राप्त गर्दै आएको स्मरण गराउनुभयो।
उहाँले खेलकुदमा रुसको वर्चस्वको प्रशंसा गर्दै दुई देशबीचको मैत्रीपूर्ण भलिबल खेललाई सकारात्मक संकेतको रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
प्रधानमन्त्री ओलीले रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य संस्कृतिको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।