महोत्तरी, मंसिर १५ :

सरकारले चालु आर्थिक वर्ष २०८१- ८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । 

सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल २० रुपैयाँ थपेर नयाँ मूल्य निर्धारण गरेको हो । 

यसअनुसार गत वर्ष कायम मूल्य पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल पाँच सय ८५ पुगेको छ ।

यसैबीच, आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसमेत नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान सङ्घ महोत्तरीले जनाएको छ ।

मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा प्रक्रिया नअपनाइएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । 
    
यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो । यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासङ्घका अध्यक्ष कुशवाहाले बताउनुभयो । उहाँका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य छ सय ६९ प्रतिक्विन्टल पर्दछ ।