
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई खेल हुँदैछन्।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो प्रतिस्पर्धामा कर्णाली याक्स र काठमाण्डौँ गोर्खाज खेल्नेछन्। कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा हुनेछ भने काठमाण्डौँका कप्तान करण केसी हुन्।
एकएक खेल खेलेका कर्णाली र काठमाडौँ दुवै टिम जित विहीन छन्। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाण्डौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको हो।
त्यस्तै, दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। विराटनगर दुई खेलमा पराजित भइसकेको छ भने लुम्बिनी पहिलो खेल खेल्दैछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको हो।