नुवाकोट, मंसिर २७ :

त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा निःशुल्क गरिएको छ ।

एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रुपमा सञ्चालन हुने गरी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो । 

नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेशिक सरकारी अस्पतालमा नाक, कान र घाटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

बहिरङ्ग सेवा (ओपिडी) निःशुल्क गरिएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमा सेवा दिने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

अहिले पाक्षिक रुपमा ओपिडी सेवा निःशुल्क सञ्चालनमा ल्याइएको हुँदा जाँचको क्रममा पहिचान भएका रोगका समस्याको शल्यक्रिया समेत समेत उपलब्ध गराउन लागिएको छ । 

निःशुल्क विशेषज्ञ सेवा अस्पतालको आन्तरिक स्रोत र माथिल्लो निकायको सहयोगमा सञ्चालनमा ल्याइएको हुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई न्यूनतम एवम् सहुलियत शुल्कमा सेवा दिन विशेषज्ञ चिकित्सकसँग सहमतिमा आवश्यक तयारी अघि बढाइएको छ । 
    
ओपिडी जाँचबाट पहिचान भएका मध्ये कानको जाली, टन्सिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको र नाकमा मासु पलाएका लगायतका नाक, कान र घाटीको रोगसँग सम्बन्धित शल्यक्रिया सेवा समेत उपलब्ध गराउन लागिएको हुँदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य र आर्थिक रुपमा समेत सहुलियत हुने अस्पतालका निर्देशक डा. लामाको भनाइ छ ।