साउन २६ :

पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका-३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो ।

गगन नेवाःखलःले आज पत्रकार सम्मेलन गरि शताब्दीऔँदेखि चल्दै आएको नेवार समुदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः मचाःको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी भदौ १५ गते नृत्य प्रतियोगिता एवं गाइजात्रा महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।

महोत्सवसँगै नयाँ युवापुस्तामा आफ्नो सांस्कृतिक, परम्पराको महत्वलाई बुझाई यसको संरक्षण र प्रवर्द्धन गर्दै निरन्तरताको बोध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको खलःका सचिव शरणकुमार प्रधानले जानकारी दिनुुभयो। 

नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिने उहाँले बताउनुभयो ।